info@kavyagharnews.com

शब्दको खेलाडी ( बिसु हाङ राई ) - कविता

बलात्कार"✍️

शब्दको खेलाडी  ( बिसु हाङ राई ) विराटनगर 

ए बलात्कारी

देखेर नारीलाई अबला 

किन गरिस अत्याचार?

त्यही नारीको कोख बाट जन्मि 

किन गरिस "बलात्कार"?

धेरै पीडा हुन्छ नारीलाई

रजस्वला हुँदा खेरी...

त्यही रजस्वला को चक्रबाटै 

जन्मिएको थिस् तँ पनि...

आमा को ममता पाएर हुर्की 

दस धारा दूध पिएर पनि

दिदी को समीप खेलेर हुर्की

बहिनी को माया बुझेर पनि ....;

किन बुझ्दैनस त्यही रूप हुन्छन 

कसैको दिदी बहिनी 

आमा 

र छोरी बुहारी

ए मानवरुपी दानव 

मेरो प्रश्नको जवाफ दे...

अहँ तेरो मुखमा 

आमा दिदी बहिनीले खुवाएको 

गाँस होइन सिस्नो 

र घाँस रहेछ -

सुन -

रावणले समेत गरेन सीताको बलात्कार ...

तर तँलाई शिक्षित पशु भन्न पनि


मेरो मनले मान्दै मान्दैन

किनकि 

पशुले समेत गर्दैन कहिल्यै पनि बलात्कार...,

के तेरो आँगनमा 

निर्मला पन्त जस्ति बहिनी थिएन र?

माया बिक जस्ति होनहार 

छोरी थिएन र?

के तेरो समाजमा ....

सलिना पोख्रेल जस्ति फुल्दै गरेकी 

गृह लक्षमी थिएन र??

के तेरो मगजका सबै इन्द्रिय अचेत थिए र?

हेर तेरो बास ....अब

न स्वर्गमा हुनेछ 

न नर्कमा किराले खानेछ....

देखेको थिस् होला 

सुनेकै थिस् होला

दर्दनाक 

र जघन्य भन्दा जघन्य 

बलाकृतका पुराना समाचार 

तर तेरो 

सुन्ने कान बहिरा रहेछ 

देख्ने आँखा अन्धा रहेछ 

नारीको रक्षा गर्ने हात काटिएको रहेछ

अनि जुन तेरो खुट्टा थियो 

धर्तीमा टेक्न होइन 

त्यो त निर्दोष 

अंगिरा पासी 

भागीरथी भट्ट

आरती भट्टराई

निशा तामाङ 

अंशु गौतम

रस्मिता परियार 

र आज फेरि इनीशा बिकहरुलाई

खेदाई खेदाइ 

दौडाइ दौडाइ

एकछिनको यौन प्यास मेट्ने सहयोगी रहेछ

आँखाले कामवासनाको 

घृणित नजर लगाउँदै

तेरो कान त पीडाको चितकारहरु

बेवास्ता गर्न ईश्वरले दिएको रहेछ

धिक्कार छ ईश्वरलाई पनि ....

तेरो दुई हातले 

उनीहरूका वस्त्र च्यात्न बनेको रहेछ

जुन आमाको स्तन चुसिस नी -

हो त्यस्तै दुई स्तनहरु

नङ्ग्राले चिथोर्न बनेको रहेछ 

अनि त्यही नरपशुको भन्दा घृणित पन्जाले

भाग्न नसक्ने कठै तिनै 

छोरी दिदी बहिनीलाई 

घाँटीमा धारिलो खुकुरीले रेट्न 

पलङमा झुन्ड्याउन 

यौनांगमा धारिलो लठ्ठीले घोचदै

घाँटी अठ्याउदै

र अस्मिता लुटेर

रगताम्मे पारी बेवारिसे फ्याँक्नु रहेछ

तेरो खुट्टा जन्मिँदै 

किन पोलियोले खियाएन?

तेरो आँखा किन धृतराष्ट्र जस्तै

जन्मिँदै अन्धा भएन?

ह्रिंसक पशुको भन्दा पनि ह्रिंसक 

तेरो अढाइ किलोको गिदीले

किन रोक्न सकेन?

तेरो बलात्कारी हातलाई 

तेरो बलात्कारी लिङ्ग

जन्मिँदै किन किन्नर भएन?

अनि जब तैँले बलात्कार गरेर 

पुरुषार्थ देखाएको प्रमाण स्वरूप

गल्लललल खित्का छाडी छाडी हाँस्दै 

उन्मत्त भएर 

पानी माथिको ओभानो हुन 

तेरो उमेरले नाबालक भन्दै छेक्यो 

कानुनको अन्धो धाराले 

हतकडीमा लागेको रगत समेत पखाली दियो...

संविधानको कोरा कागजमा लेखिएको 

अनुसूची पनि लाचार भएर भन्छ

देशमा बलात्कार सामान्य अपराध हो,

आखिर 

अब त अत्ती भयो 

तेरो हात 

तेरो खुट्टा 

तेरो आँखा 

तेरो कान 

र तेरो टाउको सँगै लिङ्ग 

टुक्रा टुक्रा पारेर गिद्धको हुलमा 

फ्याँक्न व्यग्र प्रतीक्षा गर्दै छन् 

ती अबोध बालिकाहरुका 

न्याय नपाएको आत्माहरुले 

बिराटनगर 

प्रतिक्रिया